झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले-माओवादी केन्द्र एकता विघटनपछि पनि एमाले एकीकृत पार्टी भएको दाबी गरेका हुन् ।
एमालेमा पूर्वमाओवादीका नेता कार्यकर्ता पनि रहेको उनकाे भनाई छ । ‘अदालतले एकता भंग गरेको हैन, पार्टी दर्ता भंग गरेको हो । फेरि एकता गर्न सकिन्थ्यो । त्यसका लागि प्रचण्डलाई पनि फोन गरेर भनें, तर उनले मजाक बनाए,’ उनले भने, ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान साथीहरू एमालेमै हुनुहुन्छ । यो पार्टी एकीकृत पार्टी हो ।
कानुनी रूपमा एमाले नाम रह्यो । माओवादी हैन, प्रचण्ड गुट हो ।’ उनले माओवादीमा रहेकालाई पनि एमालेमा आउन आग्रह गरे । प्रचण्डको मोहजालले माओवादीमा रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिने दाबी गरे । ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो ।
‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन ।








