काठमाडौं । तेस्रो राष्ट्रिय आईएफकेके तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ ।इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा शनिबार हुने प्रतियोगितामा सातै प्रदेशका एक सय ७० खेलाडीको सहभागिता रहने आईएफकेकेका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् ।
उनका अनुसार पुरुषमा पाँच र महिलामा एक गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ३० किलोमुनि, ३५ किलोमुनि, ४५ किलोमुनि, ५० किलोमुनि र ६५ किलोमुनि तौल समूहमा खेल हुने आईएफकेकेका ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए ।
महिलामा खुला तौलसमूहमा भिडन्त हुनेछ । प्रत्येक तौल समूहमा नगद पुरस्कारको व्यवस्था रहेको लामाले जनाएका छन् । एकदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा खेलाइनेछ ।








