चितवन । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल चिकित्सक बस्न सक्ने स्थानमा सञ्चालनमा ल्याउनु पर्ने बताउनुभएको छ । प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन निरिक्षण पछि उहाँले अस्पतालहरु जनताले सेवा लिन सक्ने र चिकित्सक जान र बस्ने सक्ने स्थानमा निर्माण गरिनु पर्ने बताउनुभएको हो ।
देशभर ७ सय ५३ पालिकामा अहिले पालिका स्तरीय अस्पताल निर्माणको काम भइरहेको भन्दै उहाँले अस्पताल निर्माण गर्दा योजना वनाएर गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सय दिनमा के गर्ने, ६ महिनामा के गर्ने र एक वर्षमा के गर्ने योजना वनाएर काम गर्नुस । जनताले सेवा पाउनु प¥यो ।” सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुलाई बाहिर काम गर्नु नपर्ने गरि सरकारले योजना वनाई रहेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो “सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सकहरुलाई सेवा सुबिधा थप गरेर भए पनि बाहिर जान रोक्ने तफ सरकारले काम गरिरहेको छ।” यसका लागि कार्यदल वनाएर काम भईरहेको उहाँको भनाई थियो ।पालिकाहरुले सञ्चालन गरेका अस्पतालहरुबाट समेत बिशिष्ठिकृत सेवा दिने योजना वनाउन उहाँले आग्रह गर्नुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष ओमप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष बाबुराम दाहाल, वडा सदस्य प्रकाश गुरुङ र डा। सागर पौडेलले अस्पतालका बारेमा जानकारी गराउनु भएको थियो ।
भरतपुर महानगरपालिकाको कार्यपालिका बैठकले शिवनगर स्वास्थ्य केन्द्र र सारदानगर स्वास्थ्य केन्द्रलाई पालिका स्तरीय अस्पतालको रुपमा बिकास गरेर सञ्चालनमा ल्याएको छ । कार्यक्रम बिहान ८ वजे देखि १० वजे सम्म सञ्चालन भएको थियो ।








