चितवन । हिन्दुहरुको दोस्रो महान चाड तिहार पर्व नजिक आउँदै गर्दा चितवनमा मखमली र सयपत्री ढकमक्क फुलेका छन। व्यवसायीक रुपमा फूल खेती गर्नेहरुलाइ पनि अर्डर लिन भ्याइनभ्याई भएको छ । भारतबाट वर्षेनी ठुलो मात्रामा आयात हुने मालालाई रोक्न चितवनका युवाहरु फूल खेतीमा लागीपरेका छन् । अहिले भरतपुर १९ का अजय यादव तिहारका लागि फूलको अर्डर लिने र पठाउने गरिरहेका छन् ।
उनको व्यस्तता बढ्न थालेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय अध्ययन गरेका उनले १ वटा वेर्ना लगाएर चार वर्ष अघि देखि फूल खेती गर्दै आएका छन । अहिले ३२ कठ्ठामा सयपत्री फुलेका छन् । त्यही सयपत्री खरिद गर्नेहरुको अर्डर टिप्न उनी व्यस्त छन्। विएससी एजी सकाएका यादव अर्का युवा इन्जिनियर सागर कार्कीसँग मिलेर माली दाई एग्रो इनोभेसन प्राली स्थापना गरी भरतपुर ७ मा व्यवसायिक फूल खेती गर्दै आएका हुन् । अध्ययन गरेर फूल खेती गरे कम लागत र मेहनतमा धेरै प्रतिफल पाउन सकिन्छ ।
अहिलेसम्म ८ सय माला विक्रि गरेका उनले यो तिहारमा १० हजार माला विक्रि गर्ने लक्ष्य राखेका छन् । एउटामा मालामा ४० वटा गुच्छा हुने र ८० रुपैयामा विक्री गरिने उनले बताए । अहिले रुपन्देही, भैहरवा, चितवन लगायतको ठाउँबाट अर्डर आएको छ । पहिला आफूले केही गरेर देखाउने र सरकारसँग अपेक्षा राख्ने बताएका उनले अन्य धेरैलाई व्यवसायिक फूलखेती गर्न सहयोग गरेका छन् । विरुवा समेत उत्पादन गरेर विक्रि गर्दै त्यसरी विरुवा लगेकाहरुले उत्पादन गरेका फूलको बजारीकरणमा समेत सहयोग गरेको उनको भनाई छ ।
उनीहरुको कार्य देखेर भरतपुर ४ लंकुका कृष्ण कुवर पनि यसै खेतीमा लागेका छन् । ३ कठ्ठामा फूल खेती छ । तिहारका लागि विक्रि खुुल्ला भएको कुँवरले बताए । आम्दानी देखेर विदेश जाने सोच नआएको उनको भनाई छ । फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठले फूलको बजार राम्रो भएपनि पहिचानमा समस्या भएको बताए ।
तिहारको समयमा मात्रै फूल खेत गर्नेहरुलाई उनले ३६५ दिननै फूलको व्यवसाय चल्ने बताए । उज्जवल नर्सरीका संचालक समेत रहेका उनलाई पनि अर्डर अनुसारको माला बनाउन भ्याई नभ्याई छ । मखमली भन्दा सयपत्रीको माग बढ्ने बताउने उनले होलसेल र खुद्रा दुवै सेवा उपलब्ध रहेको जानकारी दिए ।








