काठमाडौँ । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज पदमुक्त हुँदै छन् । नेकपा (एकीकृत समाजवादी)मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पदावधि आजबाट सकिन लागेको हो ।
प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जना स्वतः पदमुक्त हुन लागेका हुन् । नेकपा एमालेका तत्कालीन सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले ‘फ्लोर क्रस’ बापत कारबाही गरेको थियो । त्यसपछि उनीहरुकाे सांसद् पद गुमेको थियो ।
आफूलाई विश्वासको मत दिएबापत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनीहरूलाई सरकारमा मन्त्री पद उपहार दिएका थिए । कर्णाली प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही, देवी ओली र पदमबहादुर रोकाया सांसद रहेका छन् । सम्भवतः उनीहरुलाई नै मन्त्री बनाउने तयारी भएको स्रोतकाे भनाई छ ।








