खोटाङ । नेपाली कांग्रेसका नेता रवीप्रकाश राईले कांग्रेस खोटाङको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला अधिवेशनकाे मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्य राईले सोमबार जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनी केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईले आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राईले २६ कात्तिकमा खोटाङबजारमा भएको आफू पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका हुन् । उनी केन्द्रमा कृष्ण सिटौलासँग नजिक मानिन्छन् ।
भूपेन्द्रको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई, प्रदेश क्षेत्र (ख)को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा रामचन्द्र केसीलाई उठाउने तयारी गरिएको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए । अन्य पदमा उठ्ने उम्मेद्वारको टुंगो केही दिनभित्र टुंग्याइने जनाइएको छ ।
सचिवमा वर्तमान सचिव ज्ञानेन्द्र जोशी र समिर राईलाई उठाउने तयारी गरिएको छ । यस्तै, सह–सचिवमा सार्जन राई र बराहपोखरी गाउँपालिकाका अध्यक्ष रहेका शालिकराम बञ्जरालाई अघि सार्ने तयारी गरिएको छ ।








