सिमकोट । खार्पुनाथ गाउँपालिकामा यो वर्ष मकै उत्पादन घटेकाे छ । समयमै पानी नपर्नु र मकै खेतीमा किरा लागेका कारण उत्पादन घटेकाे हाे । यस क्षेत्रका बासिन्दाकाे आम्दानीकाे स्राेत अन्नबाली बिक्री मात्रै हाे ।
६ महिनालाई पुग्ने अन्न समेत नफलेपछि अब घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् । वडा नम्वर ४ छिप्रा गाउँमा गत वर्षको तुलनामा यस पटक मकै उत्पादनमा आधाले घटेकाे हिरउली रावतले बताइन । यहाँ जेठ महिना मकै छरेर कात्तिक महिनामा भित्र्याउँने गरिन्छ ।
जसपुरी रावतले पनि मकैका बोटमा डडुवा, ध्वाँसेजस्ता रोग लागेकाले उत्पादन घटेकाे बताइन । अर्को वर्षका लागि बिउ जोगाउन समेत मुस्किल भएको रावतले बताइन् । उत्पादनमा कमी हुँदा आम्दानीको श्रोत समेत घटेको उनकाे भनाइ छ । उनले भनिन्, ‘अघिल्लाे वर्षा सय रुपैयाँ किलाेमा मकैं बेचेका थियाै । यस पटक त आफैले किन्नु पर्ने भाे ।’ मकै उत्पादन राम्रो हुँदा उनीहरूले बिक्री गरेर घर खर्च चलाउने गरेकाे बताए ।








