काठमाडौ । टोखा नगरपालिका–३ बानियाटार हाइट बस्ने कृष्णहरि बानियाँलाई पछिल्लो समय श्रीमती काममा गएको मन परेको थिएन। श्रीमती सरिना खड्का बानियाँ सहकारीमा काम गर्छिन् । उनी भने व्यापार गर्थे। यही विषयमा घरमा झैं–झगडा भइरहेको थियो । बुधबार राति भने झगडाले उग्ररुप लियो। मादक पदार्थ सेवन गरेका कृष्णहरिले आवेशमा सरिनालाई चक्कु प्रहार गरे । सरिनाको घटनास्थलमै मृत्यु भयो। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले प्रहरी पुग्दा सरिनाको मृत्यु भइसकेको बताए । हत्याको कारण परिवारिक कलह भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए। “पक्राउ परेका आरोपी यतिबेला केही बताउन सक्ने अवस्थामा छैनन्,” डीएसपी खड्काले भने, “ हामी अनुसन्धान गरिरहेका छौं।” प्रहरीका अनुसार सरिनाको उमेर ४० वर्ष थियो कृष्णहरि भने ४३ वर्षका । मागी विवाह भएका उनीहरुका १२ वर्षका छोरा छन्।








