काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकबारे चौतर्फी विरोध भइरहेका बेला सो संशोधन विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभाको सोमबारको कार्यसूचिमा राखिएको छ।
सो विधेयकको सबैतिर बिरोध भएपछि सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले हाललाई सो विधेयक स्थगन गर्ने निर्णय गरेको थियो।
नीजि क्षेत्रलाई समेत छानविन गर्ने अधिकार समेत अख्तियारलाई दिन लागेकोमा त्यसको चर्को विरोध भएको छ।
‘अख्तियार सम्बन्धी विधेयक रोक्न दलबाट राष्ट्रियसभामा केही औपचारिक जानकारी आएको छैन,’ संसद सचिवालयका एक वरिष्ठ अधिकारीले भने, ‘यदि रोक्ने नै हो भने त संसदीय दलमा आउनुपर्थ्याे अनि दलबाट राष्ट्रियसभामा आउँथ्यो, त्यस्तो केही नआएपछि कार्यसूचि बनेको हो।’
ती अधिकारीका अनुसार आजै बस्ने राष्ट्रियसभाको बैठकले सो विधेयक पारित गर्ने योजना छ।








