खोटाङ । सवारी दुर्घटना न्यूनीकरणका लागि खोटाङमा ट्राफिक सप्ताह सुरु गरिएको छ । सडक अनुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय सुनसरीको आयोजना एवं जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय खोटाङको सहकार्य र समन्वयमा आइतबारदेखि ट्राफिक सप्ताह सुरु गरिएको हो ।
दिक्तेलको किरातचोक (रत्नपार्क)मा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले रिबन काटेर ट्राफिक सप्ताह उद्घाटन गरेका हुन् । ट्राफिक सप्ताहको पहिलो दिन दिक्तेलबजारको किरातचोक (रत्नपार्क)बाट सुरु भएको प्रभातफेरी हाटडाँडा पुगेर समापन गरिएको थियो ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार ५ पुसमा दिक्तेलको बसपार्क, नुनथलाचोक र हलेसीमा ट्राफिक नियम सम्बन्धी पर्चा, पम्प्लेट वितरण गर्ने एवं सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने/सम्झाउने कार्यक्रम तय गरिएको छ ।
यस्तै, ६ पुसमा दिक्तेलको किरातचोक (रत्नपार्क) र हलेसीमा राजमार्गमा रहेका अव्यवस्थित पार्किङ, राजमार्गको क्षेत्राधिकारभित्र रहेका अस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, सडकमा थुपारोको निर्माण सामग्री तथा वस्तुहरू हटाउने अभियान चलाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका इन्चार्ज दिलबहादुर खत्रीले बताए । ७ पुसमा नगरका विभिन्न स्थानमा सवारी साधनको अनुगमन, सवारीको अवस्था, कागजपत्रको चेकजाँच, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्ने चालकलाई प्रशिक्षण दिइने, ८ पुसमा विभिन्न विद्यालयमा ट्राफिक सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
यस्तै, पुस ९ मा किरातचोक (रत्नपार्क) र हलेसीमा पैदलयात्रीलाई सडकपेटी तथा जेव्राक्रसबाट बाटो काट्ने, पार्किङ तथा नोपार्किङ व्यवस्थापन गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने कार्यक्रम छ । पुस १० मा दिक्तेलमा यातायात व्यवसायी संघ, सर्वसाधारण, शैक्षिक संस्था, सञ्चारकर्मीसमेतको सहभागीतामा ट्राफिक सप्ताह सम्बन्धी समीक्षा गर्दै ट्राफिक सप्ताह समापन गरिने ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज खत्रीले बताए ।








