बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिक-६ को पर्सा गाउँका स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन् । सडक ग्राभेलका लागि बजेट विनियोजन भएको र गत फागुनमै उपभोक्ता समितिसमेत गठन भए पनि काम नभएपछि उनीहरुले हिलाम्य सडकैमै धान रोपेर विरोध गरेका हुन् । करिब सय घरधरी रहेको गाउँमा पुग्न निर्माण गरिएको सडकको स्तरोन्नती ९ग्राभेल० गर्न नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर हालसम्म काम सुरु नै भएको छैन । सडक हिलाम्य भएर पैदलसमेत हिँड्नै नमिल्ने भएपछि नगरपालिकालाई दबाब दिने ५० जना स्थानीय जम्मा भएर सडकमै धान रोपेर विरोध गरेको जब्बार खानले बताए । नगरपालिकाका मेयर र वडाध्यक्षलाई सडक छिटो बनाउनुपर्छ वर्षायाममा हिँड्न सकिन्न भनेर धेरैपटक भने पनि वास्तै नगरेको उनको भनाइ छ । जिम्मेवार निकायले बेवास्ता गर्दा काम सुरु नभई बजेट फ्रिज हुने अवस्था आएको अर्का स्थानीय मनोज जैसवालले बताए । ‘मेयर,वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्ष सबै गैरजिम्मेवार भए,’ जैसवालले भने । वडाध्यक्ष नैनुल्ला खानले कोरोना महामारीको जोखिमका कारण गरिएको लकडाउन लम्बिदै गएकाले उपभोक्ता समितिले काम गर्न नपाएको बताए ।








