काठमाडौ । कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ। यस वर्ष आन्तरिक मुल्यांकनकै आधारमा प्रमाणपत्र दिइने भएको छ। पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय गरेको हो। शुक्रबार बसेको परिषद्को बैकठले आन्तरिक मुल्यांकनसम्बन्धी कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिएको छ। कोरोना संक्रमणका कारण बोर्डले लिने अवस्था नभएकाले यस पटकलाई कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले बताए। उनका अनुसार बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्नेछन्। त्यहि आधारमा बोर्डले प्रमाणपत्र दिने जनाएको छ। यस अघि एसईई अर्थात कक्षा १० को परीक्षा पनि रद्द गरिएको थियो। आन्तरिक मुल्यांकनकै आधारमा प्रमाणपत्र दिने निर्णय गरिएको थियो। कक्षा १२ को विषयमा भने कुनै निर्णय गरिएको छैन।








