चितवन । चितवन जिल्ला फुटबल संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । आज (शनिबार) बिहान भरतपुर महानगरपालिका ७ स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल गेट अगाडि भएको कार्यक्रममा ५९ पुरुष र एक महिलाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा फुटबल संघका प्रतिनिधि, क्लबका प्रतिनिधि तथा खेलाडी, स्थानीय र अन्यले रक्तदान गरेको एन्फा चितवनका महासचिव रामहरि ढकालले जानकारी दिए । बिहान ९ बजेबाट सुरु भएको कार्यक्रम मध्यान्ह १२ बजेसम्म चलेको थियो । चितवनमा रगत अभाव हुन नदिनका लागि कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए ।
चितवनमा देशका बिभिन्न जिल्लाबाट उपचारका लागि आउने हुँदा रगकोत माग पनि उच्च हुने भएकोले संघले सेन्ट्रल कलेजसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरेको उनको भनाइ थियो । कार्यक्रमका क्यान्सर अस्पतालका निर्देशक देजकुमार गौतम, भरतपुर ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइवि) लगायतको उपस्थिति रहेको थियो ।








