चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रनगर स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको छ । सोमबार नै महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा स्वास्थ्य चौकी भवन (एचपी टु टाइप)को शिलान्यास गर्नुभएको हो । भवन शिलान्यासका क्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिका भित्र ठूला र रणनीतिक महत्वका आयोजनाहरु द्रूत गतिका साथ अगाडि बढिरहेकोमा जोड दिँदै विकासमा सबैको साझेदारी र अपनत्व हुनुपर्ने बताउनुभएको छ । चार सय वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन् । सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्नेगरि ७८ लाख ६२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनीयर रत्न लामिछानेले जानकारी दिनुभयो । त्यस्तै, महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २५ मा रहेको जनज्योति माध्यमिक विद्यालयको चार कोठे भवन तथा विज्ञान प्रयोगशाला भवनको शिलान्यास गर्नुभएको छ । सोमबार शिलान्यास भएको सो भवन भरतपुर महानगरपालिका, डीएलपीआई र प्रदेश सरकारको ९४ लाख रुपैयाँ लगानीमा सम्पन्न हुनेछ । सो भवन शिलान्यास गर्दै महानगर प्रमुख दाहालले विकासमा पछाडि परेको वडा नम्बर २५ लाई आफूले प्राथमिकतामा राखी ठूला आयोजनाहरु सञ्चालन गरेको बताउनुभयो । वडा नम्बर २५ मा सहरीविकास मन्त्रालयको बजेटबाट प्रचण्ड मार्ग, लिङ्क रोडको काम सम्पन्न हुने चरणमा रहेको समेत बताउनुभयो ।








