उदयपुर । मदन भण्डारी लोकमार्गमा विवाहको जन्ती सवार टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जन्ती घाईते भएका छन् । दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो ।
जन्ती बोकेको टिपर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ५ सिथौली र खनिया खण्डको तेस्रो पुलमा पल्टिँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुने तथा घाइते सबै उदयपुरको कटारीका रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।
जन्ती बोकेको ना३ख ७४९० नम्बरको टिपर दुर्घटनामा परेको हो । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुधौली ट्राफिक प्रहरी कार्यालयका अनुसार टिपरमा सवार अधिकांश कटारी नगरपालिका वडा नम्बर २ का स्थानीय रहेका छन् । उनीहरूको उपचार कटारी अस्पतालमा भइरहेको छ ।








