चितवन । चितवनमा टाइफाइड खोप अभियान संचालन हुने भएको छ । चैत २५ देखि वैशाख ४ गतेसम्म यो अभियान चलाइने भएको हो । टाइफाइडरोगविरुद्ध यो खोप १५ महिनादेखि १५ बर्ष उमेर समूहलाई लगाइने स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख रामकुमार केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार चितवनमा ९५ प्रतिशत बढी लक्ष्य हासिल गर्नेगरी १ लाख ९६ हजार ११ जनालाई खोप लगाउने उहाँको भनाई छ । खोप लगाउने संख्या विद्यालयबाट मगाइएको र अभियानमा लक्षित वर्गलाई नछुटाउने गरी तयारी भइरहेको उहाँको भनाई छ । १ लाख ५९ हजार २४६ जना विद्यालयबाट र ३६ हजार ५६६ जना विद्यालयबाहिरबाट तथ्याङ्क लिएको र सोही अनुसार खोप लगाइने उहाँको भनाई छ । कार्यालयमा आज पत्रकारहरुसँग अन्तरक्रिया गरी दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका निजी र सरकारी विद्यालयमा गरी ५४० वटा खोप केन्द्र रहेको र ९४४ जना स्वास्थ्यकर्मी खोप लगाउन खटाइनेछ ।
२०० जना विद्यार्थी पुगेको विद्यालयमा खोप केन्द्र राखिएको र चाप अनुसार ९४४ खोप सेसन कायम गरिएको छ । जनस्वास्थ्य अधिकृत दिपक सुवेदीका अनुसार अभियान सम्पन्न पछि १५ महिनादेखि दुई वर्ष उमेर समूहका बालवालिकालाई टाइफाइड खोप नियमित रुपमा लगाउनेगरी सरकारको योजना रहेको बताउनुभयो । दुषित खाना र पानी र दिसा खाँदा यो रोग लाग्ने र उपचार पनि हुनेभएपनि समयमै लक्षण नहुँदा धेरैलाई सर्न सक्ने जोखिम रहेको सुवेदीको भनाई छ ।
अहिले नेपालमा ४ लाख ५० हजार वर्षेनी टाइफाइडका विरामी हुने गरेको र प्रति १ लाखमा १ सय बढी संक्रमित हुनपुगेपछि खोप लगाउने अभियान नै संचालन गर्नुपरेको उहाँको भनाई छ । नेपालमा अहिले १ लाखमा १ हजार बढी विरामी भेटिने गरेको तथ्याङ्क छ । भारतमा बनाइएको यो खोप लक्षित वर्गलाई शुन्य दशमलव ५ मिलिलिटर डोज दिइने र अहिले चितवनका लागि २८ हजार ९४४ डोज प्राप्त भइसकेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । गम्भीर विरामी भएकाहरुलाई बाहेक र कुनै खोप लिइएको अवस्था छ भने १५ दिनको ग्याप राखेर यो खोप लिनुपर्ने बताइएको छ ।









