चितवन । स्वास्थ कार्यालय चितवनका अनुसार यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने भएको छ । स्वास्थ कार्यालय चितवनका निमित्त प्रमुख राम केसीका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाईन लागेको हो ।
६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने जनाईएको छ । आफूलाई पायक पर्ने वितरण केन्द्रमा गएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन सबै अभिभावकहरुलाई आग्रह गरेको छ । सरकारले हरेक वर्ष बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने गर्दै आएको छ । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले औषधि खुवाउने ठाउँसम्म जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लाका सबै पालिकाहरुमा भिटामिन ए र जुकाको औषधि पठाईसकिएको छ ।
स्वास्थ्य स्वयंसेविकाहरुले वडाका पायक पर्ने ठाउँमा केन्द्र राखेर यो अभियान सञ्चालन गर्नेछन् ।








