इटालियन सिरी ‘ए’ मा एसी मिलान र एटलान्टाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । मिलानोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीका हाकान कलहानोग्लुले गोल गर्दा पाहुना टोलीका डुभान जापटाले गोल फर्काएका थिए ।
एटलान्टाका रुस्लान मालिनोभ्स्कीले पेनाल्टी चुकाएका थिए । खेलको १४औं मिनेटमा हाकानले फ्रिकिकमा सिधै गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए । २४औं मिनेटमा एटलान्टाले खेललाई बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । लुकास बिजिलाले रुस्लान मालिनोभ्स्कीलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै एटलान्टालाई पेनाल्टी प्रदान गरेको थियो । तर, रुस्लानको पेनाल्टीलाई मिलानका गोलरक्षक जियानलुजी डोनारुम्माले बचाउदै बराबरी टारेका थिए ।
३४औं मिनेटमा डुभान जापटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । रेमो फ्रिउलेरको प्रहार डिफ्लेक्ट भएपनि डाभिड कालाभियाले क्लियर गर्न नसकेको बललाई जापटाले कुनै गल्ती नगरी जाली चुमाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डोनारुम्माले एटलान्टाको प्रहारलाई विफल पारेका थिए । दोस्रो हाफमा एटलान्टाले घरेलु टोलीलाई दवावमा राखेपनि गोलरक्षक जियानलुजी डोनारुम्माले उच्च प्रदर्शन गरेपछि खेल १–१ गोलको बराबरीमा टुंगियो ।
यो बराबरीले दुवै टोलीलाई घाटा भएको छ । एटलान्टाले दोस्रो स्थानमा तीन अंकको अग्रता लिने अवसर गुमाउदा मिलानले पाँचौ स्थानमा उक्लने अवसर गुमाएको छ । एटलान्टाको ३६ खेलबाट ७५ अंक पुगेको छ । एक खेल कम खेलेको तेस्रो स्थानको इन्टर मिलानको ७३ अंक रहेको छ । छैटौ स्थानमा रहेको मिलानको ६० तथा एक खेल कम खेलेको रोमाको ६१ अंक छ ।








