चितवन । मेडीकल सिटिका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीहरुको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । केन्द्रमा माग अनुसार रगत नपाउँदा बिरामीका आफन्तहरु दाताको खोजिमा भौतारिनु पर्ने अबस्था रहेको छ । बर्षभरीनै कुनै न कुनै रक्त समुहको रगत नपाउँदा आफन्तहरु रक्तदाता खोज्न बाध्य हुने गरेका छन् । बर्ष भरीमा झण्डै पाँच हजार जनाले केन्द्रमानै आएर रक्तदान गर्ने गरेको तथ्याङ्क छ ।
यी व्यक्तिहरु बिरामीका आफन्तको अनुरोधमा डाकीएका रक्तदाता हुन । यहाँका अस्पतालमा २० हाराहारी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । बिपि कोईरला मेमोरीयल क्यान्सर अस्पतालका बिरामी र अन्य अस्पतालमा बिशेषज्ञ सेवा लिनेहरुका लागि धेरै रगतको आबश्यक हुने गर्दछ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेल यहाँको क्यान्सर अस्पताल, भरतपुर अस्पताल, दुई मेडीकल कलेज र २० भन्दा बढि साना ठूला अस्पतालमा हुने शल्यक्रिया लगाएतका उपचारमा ठूलो मात्रामा रगतको माग हुने गरेको बताउनुहुन्छ ।बर्ष भरीमा ३५ हजार युनिट हाराहारी रगत केन्द्रले उपलव्ध गराउँदै आएको छ ।
पौडेलको भनाईमा ५० हजार युनिट हाराहारी रगतको आबश्यक यहाँ पर्दछ । अत्याबस्यक शल्यक्रियाहरु समेत समयमा गर्न रगतका कारण कठिन हुने गरेको छ । पौडेलले केन्द्र सञ्चालन गर्दै आएको नेपाल रेडक्रश सोसाइटीले रक्तदाताहरुका लागि उत्प्रेरणाका कार्यक्रम गर्न नसक्दा समस्या आएको बताउनुभयो । रक्तदाता बढाउनका लागि नयाँ रणनैतिक कामहरु गर्न नसकेर पुरानै ढर्रामा सोसाईटी रहेको उहाँको भनाई छ । सरकारी निकाय संगको समन्वयमा सोसाईटीले काम गर्न नसकेको भन्दै उहाँले यस्तै अबस्था रहेमा रगतकै कारण बिरामी बचाउन नसक्ने अबस्था आउन सक्ने उहाँले बताउनुभयो ।
केन्द्रले चितवन सहित छिमेकी जिल्लाहरुबाट समेत सहकार्य गरेर रगत संकलन गरिरहेको छ । नवलपरासी, गोरखा, लम्जुङ्, तनहुँ, धादिङ्, मकवानपुर, सर्लाही, रौतहट लगाएतका जिल्ला पुगेर रगत संकलन गर्ने गरिएको छ । बर्षभरमा ४ सय हाराहारी रक्तदानका कार्यक्रम हुने गरेका छन् । ती कार्यक्रमहरुमा पहिले पहिले १००÷१५० युनिट रगत संकलन हुने गरेकोमा आजभोली ४०÷५० युनिट संकलन हुने गरेको छ । नेपाल रेडक्रश सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले रगत संकलन कम हुँदै गएकाले समस्या हुने गरेको बताउनुभयो । सोसाइटीले रक्तदाता उत्प्रेरणाका कार्यक्रम गर्न नसकेको उहाँले स्विकार गर्नुभयो ।
रक्तदातालाई गरिने सम्मान कार्यक्रम समेत कोभिडका कारण दुई वर्ष देखि हुन नसकेको उहाँको भनाई छ । एक घरको एक जनाले रक्तदान गरेमा मात्र धेरै समस्या समाधान हुने भन्दै उहाँले यो जनचेतना जगाउनु पर्ने बताउनुभयो । धेरै जिल्लाबाट यहाँ बिरामी आउने भएकाले ती जिल्लाहरुका सामाजिक संघ संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरिदिएमा रगतको पूर्ती गराउन सहज हुने उहाँ बताउनुहुन्छ । वडा तहबाटै प्रचार प्रसार आबश्यक रहेको न्यौपानेको भनाई छ ।
बर्ष भरीनै रगतको अभाव हुँदा झापा, पोखरा, भैरहवा लगाएका ठाउँबाट रगत मगाएर मागको आपूर्ती गर्ने गरेको न्यौपानेले जानकारी दिनुभयो । भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी समयमानै योजना बनाउन नसकीएमा भविश्यमा रगतको ठूलो समस्या पर्ने बताउनुहुन्छ । आम नागरीकका बिचमा रगतको महत्वको बारेमा बुझाएर स्वयमसेवीहरुको ठूलो समुह तयार गर्नुपर्ने उहाँको भनाई छ । रक्तदाताहरुको सूचि तयार गरि बोलाएर रगत लिने कार्यक्रमहरुलाई व्यापकता दिनु पर्ने उहाँ बताउनुहुन्छ ।
सामाजिक सेवा गर्ने संघ संस्थाहरुले सामाजिक उत्तरदायीत्व ठानेर बार्षिक कार्यक्रममा रक्तदान राख्नु पर्ने उहाँको भनाई छ । यस्तै स्कुल कलेजहरुले नियमीत रक्तदान कार्यक्रम संगै साना बिद्यार्थीहरुलाई रगतको महत्वको बारेमा बुझाउनु पर्ने अधिकारी बताउनुहुन्छ । नागरिक तह सम्म रगतको महत्वको बारेमा बुझाएर उत्प्रेरणा नदिए सम्म रगतको अभाब घटाउन नसकीने उहाँको तर्क छ ।








