नवलपुर । दादुरा–रुबेला खोप अभियान नवलपुरमा सोमवारदेखि शुरु भएको छ । दुई चरणमा दादुरा–रुबेला खोप अभियान सम्पन्न गरिने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । पहिलो चरणमा सोमवारदेखि ११ गतेसम्म जिल्लाको सदरमुकाम कावासोतीसहित, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका तथा, विनयी–त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिए । त्यसैगरि, दोस्रो चरणमा चैत्र १६ गते देखि २४ गतेसम्म गैंडाकोट नगरपालिका, बुलिङटार र बौदीकाली गाउँपालिकामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिनेछ । नौ महिनादेखि ५ वर्ष मुनीका बालवालिकालाई लगाउन सकिने यो खोप अभियानका लागि पूर्वी नवलपरासी जिल्लामा ३ सय ७९ खोप केन्द्र तोकिएको छ । अभियानका लागि ९७ जना खोप कार्यकर्ता र ७ सय ५८ स्वयंसेवक कार्यकर्ता परिचालन गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ । नौ देखि २३ महिनासम्मका बालबालिकालाई दायाँ तिघ्राको बीच बाहिरी भागमा र २४ महिना माथि ५ वर्षसम्मका बालबालिकालाई बाँयाँ पाखुराको माथिल्लो भागमा खोप लगाइने छ । नवलपुरको तथ्याङ्क अनुशार जिल्लामा पूर्ण खोप करिव ७३ प्रतिशत बालवालिकाले प्राप्त गरेको तथ्याङ्क छ ।








