हेटौंडा । मकवानपुर प्रहरीले घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको छ । हेटौंडा–१९ नेवारपानी चेकपोष्ट र हेटौंडा–९ पशुपतिनगर चेकपोष्टमा जाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने ४ जना सवारी चालकलाई पक्राउ गरेको हो । उनीहरुले सुरक्षा मापदण्ड विपरित राँगा, भैसी ओसारपसा गर्ने क्रममा कागजात पुर्याउन सम्झाउँदा घुस दिन खोज्नेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले ना ७ ख ६२२४ नम्बरको आइचर चालक बीरगंज–३२ का ३३ बर्षीय नसुरदिन अन्सारी, ना४च ८३९४ नम्बरको पिकअपका चालक बारा जितपुर सिमरा–४ का २१ बर्षीय गुलाम अन्सारी, ना६ख ५६२६ नम्बरको ट्रकका चालक बारा सिमरा–३२ का ३४ बर्षीय लाल अन्सारी र ना६ख ९४७ नम्बरको ट्रकका चालक सर्लाही बरहथवा–९ मुर्तियाका २३ बर्षीय अरुण महतोलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्धा दायर गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले अहिलेसम्म घुस दिन खोज्ने १५ वटा सवारीका चालकलाई मुद्धा दायर गरिसकेको जनाएको छ ।








