चितवनः प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले राज्यले रोक लगाएका बाहेक अन्य सूचनाहरु सहज रुपमा उपलव्ध गारउन निर्देशन दिएका छन् । नेपाल प्रेस युनियन चितवनले रजत बर्षको उपलक्षमा आज आयोजना गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरु बिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सूचना अधिकारीहरुले पत्रकारहरुलाई सहज रुपमा कार्यालय भित्रका सूचना प्रबाह गर्न निर्देशन दिए ।
सूचना प्रबाह सहज भएमा कार्यालयको कामका बारेमा जनताले जानकारी पाउने भन्दै उनले हरेक कर्मचारीहरुलाई आम नागरिक भएर सोच्न समेत आग्रह गरे । उनले कतिपय अवस्थामा सूचना दिएर जोखिम मोल्न नचाहेको पनि हुन सक्ने बताए । आगामि दिनमा सूचनाको व्यवस्थापनमा ध्यान दिने भट्टराइले बताए।
उनले सुचना अधिकारी र कार्यालय प्रमुखहरु बिचको समन्वयलाई बढाउनुपर्ने भन्दै पत्रकारहरुलाई यथार्थ सूचना सम्प्रेषण गर्न आग्रह गरे ।
त्यस्तै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारहरुका लागि सूचना महत्वपूर्ण रहेको भन्दै माग भए अनुसारका सूचना सहज पाउन नसक्नु बिडम्बना रहेको बताए ।उनले सञ्चारमाध्यम र सूचना अधिकारी बीचको सम्पर्क राम्रो हुनुपर्ने बताए । सुचना अधिकारी र पत्रकारको कार्य सुचना जनतासम्म पुराउने भएकाले पत्रकारलाई सहज बातावरणमा सूचना उपलव्ध गराईदिन आग्रह गरे ।
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लामा रहेका सरकारी कार्यालयहरुका सुचना अधिकारीहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।








