गोरखा ।गोरखाको गण्डकी गाउँपालिकाले कास्की, चितवन र काठमाडौँमा रहेका सामाजिक सुरक्षा भत्ता पाउने योग्य (आफ्ना नागरिकहरु) लाभग्राहीहरुको नविकरण तथा नयाँ दर्ताका लागि सम्बन्धित जिल्लामै पुगेर सेवा दिने भएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड –१९ र केही दिन अघिको अविरल बर्षासंगै आएको बाढीले सृजित विषम परिस्थितिका कारण गाउँपालिका बाहिर तीन जिल्लामा रहेका लाभग्राहीहरुलाई ध्यानमा राखी तीनै जिल्लामा कर्मचारी खटाइएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख रिम्क गुरुङले जानकारी दिनुभयो । ती तीन जिल्लाहरुमा गण्डकी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता पाउने योग्य नागरिकहरुको संख्या बढी भएकाले सहज बनाउनका लागि कर्मचारी खटाइएको उहाँको भनाई छ । उहाँका अनुसार कास्कीका लागि अमर सिंह मावि पोखरा, साउन २६ गते नै चितवनका लागि विरेन्द्र क्याम्पस भरतपुर र काठमाडौँका लागि २७ गते तमू ह्यूल छोँज धिँ गुरुङ्ग राष्ट्रिय परिषद कार्यालय गंगबु बसपार्कमा कर्मचारी खटाइने छ ।









