भरतपुर । मेरी स्टोप्स प्रिमियर नारायणगढले सेवा विस्तार गरेको छ । मेरी स्टोप्सले महिनावारी र बाँझोपन सम्बन्धि सेवा विस्तार गरेको हो । महिनावारी सुरु हुने र रोकिने बेलामा आउन सक्ने समस्याको उपचार सेवाहरु सुरु गरिएको हो । यौनजन्य रोगको उपचार समयमा नै नहुँदा धेरै महिला पीडित हुने गरेकाले मेरी स्टोप्सले सेवा विस्तार गरेको व्यवस्थापक हेमराज गिरीले बताए ।
मेरी स्टोप्सले यौनजन्य स्वास्थ्यको विषयमा परामर्श दिने तथा सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । त्यस्तै, पछिल्लो समय महिलाले सुरक्षित वा असुरक्षित गर्भपतन गराउनेको संख्या बढेको छ । गर्भपतन गराउँदा महिलामा बाँझोपन हुने सम्भावना हुन्छ । बाँझोपन पनि प्रमुख समस्याका रुपमा देखिएपछि सेवा विस्तार गरिएको उनले बताए ।
उनका अनुसार मेरी स्टोप्सबाट मासिक औसत सय जनाले सुरक्षित गर्भपतन गराउने गरेका छन् । तीमध्ये २० देखि ४० वर्ष उमेर समूहका महिला धेरै रहेको उनी बताउँछन् । गर्भपतन गराउने एक सयमा करिब चार जना महिला १५ देखि २० वर्षको उमेर समूहका महिला रहेको उनले बताए ।








