काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका २३ खेलाडीको पीसीआर परीक्षण गरेको छ । एन्फाले मंगलबार पाटन अस्पतालमा दोस्रो दिन २३ जना खेलाडीसहित ३० जनाको पीसीआर परीक्षण गरेको हो । बन्द प्रशिक्षण सुरु गर्न क्वारेन्टिनमा बसेका खेलाडीहरु मध्येबाट ११ खेलाडी, दुई अफिसियल र १२ पदाधिकारी गरी २५ जनाको पीसीआर परीक्षण सोमबार सकिएको थियो । त्यस्तै एन्फाले मंगलबार बाँकी २३ खेलाडी र ६ अफिसियलको पीसीआर परीक्षण गराएको हो । मंगलबार परीक्षण गरिएका खेलाडी र पदाधिकारीको रिपोर्ट भने दुई–तीन दिनमा आउने जनाइएको छ । हिजो सोमबार र आज मंगलबार गरि जम्मा ५४ जनाको परीक्षण भएको हो । फिफा विश्वकप २०२२ एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको तयारीमा रहेको एन्फाले भदौ १ बाट प्रशिक्षण थाल्ने तयारी गरेको छ ।








