– तीर्थराज रानाभाट (सहायक प्राध्यापक, आदिकवि भानुभक्त क्याम्पस दमौली तनहुँ ।)
भाग्यमानी कि अभागी ?
‘वास्तविक पीडा त पीडा भोग्नेलाई मात्रै पो थाहा हुन्छ । बाँकीलाई त काल्पनिक मरीचिका त हो’ ।
-लाऊँ -लाऊँ,- खाऊँ -खाऊँ,- गाऊँ – गाऊँ, नाचूँ – नाचूँ, हाँसूँ – हाँसू, रमाऊँ – रमाऊँ, केही गरूँ – गरू भन्ने बेलामा २०७९ पौष अन्त्यमा २६ वर्षको कलिलो उमेरमै कान्छी बहिनी दुर्गा रानाभाटको अल्पायुमै भएको निधनपछिको वेदना अरु कसैको जीवनसँग मेल खाला नखाला तर हाम्रो जीवनमा माथिका हरफहरुसँग संयोग हुन पुग्यो र प्रश्न गर्न मन लाग्यो तिमी, हामी भाग्यमानी वा अभागी ?
नौ महिना कोखमा राखेर २०५३ साल असोज २८ गते तिमीलाई छोटो प्रसव पीडापछि बिहानै उघारिएको आकाशसँगै घाम जस्तै चम्किलो तिम्रो अनुहार देख्न कति हर्ष विभोर थिएँ-यौं होला म, हाम्री महान आमा मनुमाया रानाभाट लगायत बाबा तुल बहादुर रानाभाट,स्व हजुरबुवा नरसिंह रानाभाट ,स्व: हजुरआमा डिलमाया रानाभाट,दिदीहरु नरीमाया(मैना), मधु (पुखा),निरु, बिष्णु,देबी, रिलु रानाभाट, अनि हामी सम्पूर्ण सम्पूर्ण इष्टमित्र । हुन त बाबाले एक आँखो के आँखो एक छोरो के छोरो भन्ने उक्तिलाई वकालत गर्दै गर्दा तिमी पनि ७ औँ छोरी वा नवौँ सन्तानको रुपमा जन्म लिँदा छोराको आशा निराशामा परिणत भएर पनि होला मेरो जस्तै बुवासँग तिम्रो पनि खासै ग्रहदशा भनौँ वा केमेस्ट्री मिले जस्तै लाग्दैनथ्यो । म कलेज पढ्दै गर्दा जन्मिएको तिमी बिहे भन्दा पछिल्ला ३, ४ वर्ष कलेज पढ्दा बाहेक लामो समयसम्म सामीप्यता नरहे तापनि घरकी कान्छी छोरी बालक काल देखि नै तिमीमा छुट्टै फरकपन थियो । त्यसैले त तिमी बिशेषहरुमध्ये विशेष थियौ । सन्तान धेरै भएकै कारणले राम्रो लगाउन र मिठो खानको लागि अभावै भए पनि स्वः हजुरवुवा,स्वः हजुरआमा, बुवा, आमाले हामीलाई खानाका लागि कहिल्यै पनि अभाव गराउनु भएन ।
कुनै पनि व्यक्ति केही न केही कुराबाट प्रेरित हुन्छ । त्यसैगरी तिमी पनि स्वः हजुरबुवा नरसिंह रानाभाटबाट प्रेरित भयौ जसले मेहनत, इमान्दरिता, लगनशीलताको पाठ सिकाउनु भयो । सानै उमेरदेखि हजुरबुवासँग बस्ने, खाने, सुत्ने भएकै कारण पनि तिमी विशेष प्यारी थियौ । हजुरबुवा लगायत सबैकी । बुवासँगको कहिले काहीँ ठाक्कठुक्कमा तिमीले हाम्रो लागि के गर्दियौ ? जे गरेपनि बुढा बाले गर्नुभयो भनेर यो नाकको फुली देखाउँदै यो पनि बुढा बाले सुन्तला बेचेर किनिदिनुभएको हो भन्ने तर्कले पनि प्रष्ट्याउँछ कि तिमी हजुरबुवासँग कति नजिक थियौ भन्ने कुरा ।
त्यसैले त हाम्रो परिवारमा २०७४ साल माघ ०९ गते ९२ वर्षको उमेरमा हजुरबुवाको निधनपछि प्रसव पीडाको अगाडिको अपरेसनको कारणले २० महिनापछि २०७९ पौषको अन्त्यमा २६ वर्षकै लाउँलाउँ र खाउँखाउँ भन्ने कलिलो उमेरमा तिम्रो आशा नगरबाट सुख नगरको खोजीमा दुःख नगर हुँदै स्वर्ग नगरतर्फको तिम्रो अनायासै यात्रालाई के संज्ञा दिऊँ ? कसरी सहन गरुँ ? लाग्छ मलाई तिमि पनि तिम्रो प्राण भन्दा बढी स्नेह गर्ने हजुरबुवा, हजुरआमा, प्रेम सानुबुवासंग पनि मिलन भयो होला है? वहाहरुको काखमा सानी प्यारी मान्छे भएर लडीबुडी गर्नु है। ‘भगवानले जसलाई प्रेम गर्छन् उनीहरु उमेरमै मर्छन्’ भन्ने लर्ड वाइरनको पङ्क्ति सिद्ध भएको त बुझ्ने होला होइन र ? बालक कालदेखि नै छरितो, हँसिली, सुन्दर तिमी दुःख त धेरै गर्यौ । शान्ति प्रावि (हाल मा.वि )ऋषिङ ३ दुबुङ तनहुँबाट कखरा, एबीसीडी, एक दुई तीन, वान टु थ्री सुरु भएको तिम्रो प्रारम्भिक शिक्षा, आदर्श शिक्षा मा.वि. देवघाट २ खाल्टे तनहुँको प्लस टु सम्मको शिक्षा र एस.पी.एम कलेज गैँडाकोट नवलपुरमा स्नातक तह पढ्दासम्म पनि अभावै अभावमा जिएर पनि प्रभाव जमाउन माहिर तिमीलाई कसरी वर्णन गरौँ । उम्रन्छ पिपल, ढुङ्गाको काप फोरेर भए पनि, तिमी पनि अभाव समस्यालाई छिचोलेर फक्रिरहेकी फूल थियौ ।
फूल थियौ र पो, सबैकी खास थियौ , विशेष थियौ शिक्षक, साथीभाइ, इष्टमित्र, घर परिवार सबैका लागि । पिपलको बोट त उम्रियो, हुर्कियो, बढ्यो तर विडम्बना पूर्ण रुपमा विकसित हुन नपाउँदै ओइलाएर गयौ । २०७५ फागुन २५ मा ज्वाइँ अशोक रानाभाटसँग सम्पन्न शुभ विवाह पनि तिम्रो आफ्नो रोजाइ थियो जब कि म आफैँ जुन अन्तर जातीय प्रेम विवाह गरेको बुज्रुकले तिम्रो सजातीय विवाहलाई नकार्ने, प्रश्न चिन्ह खडा गर्ने कुरा रहँदै रहेन । घर माइती सबै रिझाएर खाएकै थियौ । तिमी नै भन्ने गर्दथ्यो नि हामी कोही भन्दा केही कुरामा कमजोर वा तल छैनाँै तर खै त यमराजसँग त हार्यौ त अनि तल पर्यौ त । हरेक दम्पतीमा विवाहपछि सन्तानको चाहना हुन्छ । त्यो स्वभाविक रुपमा तिम्रो पनि हो । तिमी आफैँ जान्ने बुझ्ने सचेत मान्छे थियौ । म, भाउजू बिष्णु र बाबु सुयोगलाई २०७७ साल चैत्रमा कोरोना सङ्क्रमण भन्दा अघिल्लो भेट नै अन्तिम भेट भयो है ? भाउजूले तिमीप्रति गरेको अथाह प्रेम प्रवाह, तिम्रो भाउजू र बाबुप्रतिको झुकावटको कसरी वर्णन गरौँ म ? तिमी कति स्पष्टवक्ता र हक्की थियौ है । तिमी नै भन्ने गर्दथ्यौ नि मेरो आफ्नै सामु ‘दाइ त खासै हुनुहुन्न तर भाउजू ज्ञानी, मनकारी हुनुहुन्छ , बाबु असल मिजासिलो छ, कसैको कुरा काट्न लगाउन आउँदैन भनेर ।’ अब तिमीले कसलाई सुनाउछ्यौ र हामीलाई कसले सुनाउँछ ? यी सारा घर माइतका बखानहरु ? २०७८ साल बैशाख ३० गते राती १ बजेको तिम्रो ससुरा बुबाको फोन एउटा विषम हुरी बनेर आयो जसले हाम्रो कहिल्यै राम्रो गरेन । सोच्यौ जेठ १ गतेको सुत्केरी हुने दिन शुभ समाचार होला भनेर, जब बाइक स्टार्ट गरेर भाउजू र म सी.एम.सी हस्पिटल चितवन पुग्यौँ ।
तिमी त अर्धचेतन अवस्थामा डम्म फुलेको निलो पेट इमरजेन्सी बेडमा (कार्डियो पल्मोनरी रिससाइटेशन सीपीेआर) कृत्रिम श्वास प्रश्वास दिएर राखिएको पो रहेछ । ८ घण्टाको लामो तनावपूर्ण कुराइपछि ब्लड प्रेसर अलिकति सन्तुलनमा आएपछि अप्रेसन भयो । मृत भान्जीको जन्म भए पनि तिमी आमाले त देखिनौ है ? तर तिमी त बाँच्छौ भन्ने ठूलो आशा थियो । सी.एम.सी चितवनको इमरजेन्सी, आइसीयु, भेन्टीलेटर, कोरोना सङ्क्रमण, २५ दिनको बसाइ, मेडिसीटी हस्पिटल काठमाडौँको १५ दिनको उपचार, चित्रवन प्राकृतिक हस्पिटल चितवन र अर्थाेप्लास्ट रिहाबीलिटेशन सेन्टर ग्वार्को काठमाडौँको उपचार बसाइ जुन अन्त्यन्त खर्चिलो, तनावपूर्ण थियो तर आशावादी थियौँ । तर विडम्वना, नतिजा उल्टो प¥यो । चिकित्सकहरुका अनुसार प्रि-इक्लाम्पसिया एउटा दुर्लभ रोग रहेछ जुन सुत्केरी हुनुभन्दा पहिले ‘सिजर’ आउने रहेछ । रक्तचाप एक्कासी बढ्नाले सेरेबल हाइपोक्सिया हुन पुगेछ । जुन अनौठो रोग दिमागमा अक्सिजनको कमीको कारणले हुँदो रहेछ । डाक्टरका अनुसार यो अनौठो रोग संसारमा १०० जना गर्भवती महिला मध्यमा एक जनामा देखा पर्दो रहेछ । तिमि आमा बनेर धर्ती जगाउने, जिम्मेवारी बहन गर्ने, बंश चलाउने रहर अधुरो नै रहयो, खुसीको संसारमा पहिरो गयो । त्यो हाम्रो लागि नयाँ अध्याय थियो । तिमी त हामीलाई नयाँ कुरा पढाउने, नयाँ अध्याय सिकाउने गुरुआमा पो भयौ ह गि ? जीवनको महत्व, स्वास्थ्यको ऐश्वर्य बताउने, जिबन जगतलाई फरक ढंगबाट बुझाउन अग्रसर भयौ है ? अब के भनौ, को भाग्यमानी–को अभागी ? तिमीले नजानेर सिकायौ हामीले त बुझ्यौँ तर तिमीले नि ?
घर,अस्पतालदेखि देबघाटसम्मको यात्रामा- खटाइमा जुट्नु हुने सम्पूर्णमा साधुवाद । विशेष गरी ज्वाइँ अशोकको तिमीप्रतिको माया, ममता, स्नेह र हामी जति निराश भए पनि अन्तिमसम्म उहाँको आशावादीपनलाई म हृदयदेखि सलाम गर्छु । पतिपत्नी पाउनु त तिमीहरुले जस्तो पो पाउनु, जहाँ पतिपत्नी बिरामी भएको नौ दिनमा नौलो, २० दिनमा बिर्सेर ३२ दिनमा सम्बन्धलाई बिसर्जन गर्न आतुर हुन्छन् । तर ज्वाइँ हरपल खट्नु भयो, जुट्नु भयो । २० महिना घरपरिवारको न्यानो माया पायौ । अब कहाँ पाउँछौ तिमीले यस्तो प्यार ? तिमीले थाहा पाएर नपाएर यति धेरै इष्टमित्रले माया ममता दर्साउनुभयो । बाँचुन्जेल राम्रो हेरचाह पायौ परन्तु बाटो उल्टै भए पनि भगवानको प्यारी भएर उमेरमै उनकै शरणमा ब्रह्मलिन भयौ । भाग्यमानी त होलाऊ नि है ?
विडम्वना, मेरो थलोमा तिमीले गोबरले लिप्नु पर्ने, सुनपानी छर्कनुपर्नेमा मैले तिम्रो थलोमा जौ तिल छर्नुपर्ने भयो । यो कसरी सहन सक्छु म ? मान्छेले तिमीलाई स्नेह वा घृणा जे नै गरेपनि, कुरै काटे पनि, सुन्न त सुन्यौ कि सुनिनौ, रुन त कहिलेकाँही रोयौ तर अर्धचेतन अवस्थामा । तिमीलाई सबैले प्रेम दर्साए, भेटेर सुम्सुम्याए, तिम्रा लागि आँसुको भेल बगाए । तिम्रो स्वास्थ्य लाभ र तन्दुरुस्तीका लागि भक्ती, प्रार्थना गरे । तिमीबाट जीवन के हो ? खुशी के हो ? बैँश के हो ? वंश के हो ? स्वास्थ्य, सचेतना के हो बुझ्ने मौका पाए । तिमीले त सबैलाई सिकाएर पढाएर गयौ । हरेक अँध्यारो बादलमा सेता चाँदीका धर्साहरु हुने रहेछन् भनेर प्रमाणित गरेर गयौ है ।
अब सवाल रह्यो तिम्रो अभागीपनको । भनिन्छ वैँशमा स्यालपनि घोर्ले हुन्छ । हरेक अप्ठ्यारालाई सहज रुपमा बदलेर खुशीको उन्मादले एक हातले ज्वाइँले र अर्को हातले तिमीले भान्जीको हात समातेर मुस्कानको किरण छरेर हर्ष र उत्साहका साथ पाइला लम्काउनु पर्ने मान्छे तिमी पौषको कठाङ्ग्रिदो जाडोमा तिमीले नदेखेको तिम्रो छोरीको चिहान नजिकै देवघाटधामको नारायणी नदी किनारको चितामा विलिन भयौ है । कति पोल्यो होला है तिम्रो सुकमोल शरीरलाई आगोको लप्काले ? लामो अनि चम्किलो जिन्दगीको अधुरो मधुरो यात्रा रह्यो तिम्रो । हामीलाई त बाँकी रह्यो सम्झनामा मात्रै जुन सबै ताजा रहिरहनेछ । ज्वाइँले तिमीलाई अन्तिम बिदाइमा निधारमा गरेको त्यो चुम्बन संसारकै महान वियोगान्त क्षण थियो, संसारका कुनै महान वियोगान्त कथा, कविता, नाटक, चलचित्रमा पनि विरलै देखिएला यो अनुभूति या बेदना । मेरो छातीमा अङ्गालो हालेर ‘दाजी मलाई माफ गरिदिनु मैले दुर्गालाई बचाउन सकिन’ भनेर भन्नु भएको वाक्य मेरो हृदयमा जीवनभर गुञ्जिरहने छ । माया भनेको यो पो रहेछ जसको खुशीका लागि आफ्ना सारा खुशीहरु त्यागिदो रहेछ यातना (पिडा)मा पनि आनन्द मिल्दो रहेछ- सच्चा प्रेमको महानता त यहाँ पो झल्किदोरहेछ ।
बावुलाई काठमाडौँ पढाउनु पर्छ, डाक्टर बनाउनु पर्छ, डाक्टर सुयोग रानाभाट भएको, भनेको हेर्ने, सुन्ने ठूलो धोको छ । बावुको संस्कारी बिहे गर्नुपर्छ जसको लागि हाम्रो परिवारको लागि मात्रै छुट्टै एउटा गाडीको व्यवस्था गर्नुपर्छ भन्ने तिम्रा अभिलाषा रहरहरु तिम्रो बिरानो शहरको यात्राले कुइरोमै मडारियो है । तिमी त अब निर्जीव भयौ है । मात्रै फोटोमा । हामी बोलाउँछौ तर तिमी बोल्दिनौ । हामी सम्झन्छौँ तर तिमी सम्झन्नौँ, महसुस हुँदैन । अब आमाले तिमीलाई बाहुनडाँडाबाट भोस्रेबारीबाट गाडी आउँदा वा आडा मुन्तिरबाट कोही मान्छे आउँदा कान्छी पनि आयौ कि भनेर झझल्को आउला । आमा मुर्छा पर्नुहोला, रुनुहोला, विलाप गर्नुहोला, तिम्रो विरहमा अतितका यादमा डुब्नु होला । तिम्रो बाटो हेरौला कुरौला, तिमीलाई सम्झौला । तिमी हामीलाई सम्झाउछौ,? बुझ्छौ त ? चाडवाड समारोह भोज भतेर जमघटमा कति सम्झना गरौँला । त्यसको त लेखाजोखा कल्पनै नगरौँ न । घरबाट बाहिर निस्केर आँगनदेखि गल्लीमा तिम्रै आगमनको प्रतिक्षा गरिरहौँला ।
हे भगवान ⁄ अब हामीलाई तिज दशैँ, तिहार लगायत यस्ता अवसरहरु नआऊन् जसले गर्दा हामी तिम्रो अतितको यादले पीडाको पोखरीमा डुबौँ । परिवार समाज र राष्ट्रको लागि अपरिहार्य एउटा नागरिक गुमायो । जसको क्षतिपूर्ति कहीँ कतैबाट हुनेवाला छैन । एउटा जवान ज्वाइँ विदुर हुनुभयो । होला समयले सबै घाउ निको त बनाउला तर लोप्रा पाप्रा त रहिरहला नि । तिम्रो अभावको प्रभावले हरपल सताइरहनेछ । तिमीलाई दुनियाँले नदेखे पनि तिमीले त माथिबाट देखिरहने छौ नि । कुरिरहने छौ । जसरी आडाको चौतारीमा बसेर खाल्टे कसेनी, बिसौनी ढुङ्गा, कुखुरीकाठ, पानी पलाउने, ठूलबासे, हुग्गगौडा, साझपानी, सोलीको जुर, सम्मेनी लगायत क्षितिज पारिका सबै ठाउँहरु दङ्ग परि हेर्न भ्याए जस्तो गरी हेरिरहुली । तर तिमी यस लोक माआफू खुशी हुने कुरा बिर्सिएर गयौ है ।
पूर्ण विरामको जिन्दगी अल्पविराममै टुङ्ग्याएर गयौ तर तिमी यो धर्तीमा भौतिक रुपमा छैनौ भनेर कसरी विश्वास गरौँ । तिम्रो शरीर त ठोस, तरल, ग्याँस बनेर यतै कतै वरिपरि डुलिरहेको जस्तो लाग्छ । यो वास्तविकता कि हाम्रो भ्रम ? बाटो र गन्तव्य एउटै हो । फरक समय परिस्थिति र कालखण्ड नै रहे । तिमी असल मिजासिली र फुर्तिली मान्छे जसरी यहाँ रहँदा सबैलाई रिझाएर तर रुवाएर गयौ तर त्यहाँ सबैलाई रिझाउनु तर नरुवाउनु है । अन्ततोगत्वा हाम्रो पनि जीवनको गन्तव्य त्यही भएकाले जीवनकालमा एउटा दाजुको हैसियतले कति इच्छा, आकाङ्क्षाहरु पूरा गर्न सकियो सकिएन, कति चित्त दुखाइयो, दुखाइएन, बुझाइयो, बुझाइएन- यी सबै कुराको हिसाब किताबको बिट उतै मार्ने गरेर स्थान बनाउँदै, बढाउँदै गर है । साथै म त भगवान सँगअझ के प्रार्थना गर्छु भने यो चोलामा त यस्तै भयो अर्को जूनीमा त तिमीलाई मेरो भाइ भएर जन्मदिनु जहाँ हामी पौंठेजोरी खेलौला,दुःख सुःख बाढौला । अन्तत आमा हुने रहरै रहरमा अकालमा नमरौला । तिम्रो हाम्रो लोकको राजमार्ग बन्द छ, तिमी त्यहाँबाट यहाँ आउन सक्दिनौ तर हामी त सक्छौ नि । तिमी त एउटा यस्तो पत्ता नलागाइएको राष्ट्रमा पर्यटकको रुपमा पुग्यौ जहाँबाट कोही पर्यटकहरु पनि फर्किएका छैनन् । तिमी कसरी फर्कन्छौ र ?
अन्त होइन अन्त्यमा, को भाग्यमानी को अभागी भनेर जोख्ने जीवनरुपी तराजुको काँटै चलेन त म के गरौं । तिमीले सारा दुनियालाई एउटा संदेश दिएर गयौं : हामी त जिबन र मृत्युको भेलाका क्षणीक पाहुना पो रहेछौं जसको आयोजक उनै भगवान पो रहेछन । यसको ताला चाबी उनकै हातमा रहेछ । यो संसार भित्र थुप्रै संसारहरु रहे छन – तिमि हामी त केवल निरिह मनुवा । आशा गरौँ तिमी जीवनरुपी कप हौ । माया, प्रेम, स्नेह टल्की रहोस् तिमीमा । हरेक दुध, चिया, कफी, वियर, पानीको चुस्कीमा तिम्रै झझल्को आइरहने छ, जबसम्म यस बह्माण्डमा सूर्य, चन्द्र, आकाश, पाताल रहिरहन्छन् तर विडम्वना कप फुट्यो र पो । यसलाई कसरी भनौ, विनाश वा सृजना ? तिमीलाई हामीलाई कुन विशेषणले सम्बोधन गरौँ ? तिमी भाग्यमानी वा अभागी ? …………बस यत्ति ।








