पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका व्यक्तिका २० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा कास्कीका ५, नवलपरासी (बर्दघाट सूस्ता पूर्व) का ९, लमजुङका २ र तनहुँका ४ जना रहेका छन् । जसमा ७ जना महिला छन् । संक्रमितहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार २५ पुगेको छ ।








