विराटनगर । विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया प्रियंका सुनारको हत्या अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले हत्यामा संलग्न भएको आशंकामा मोरङको कटहरी गाउँपालिका–५ का ३५ वर्षीय उमेश सरदार र विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरीलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
हत्या गरी बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव सोमबार दिउँसो १२ बजेतिर फेला परेको थियो। त्यसअघि हत्यामा संलग्न भएको आशंकामा कटहरी–५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर–१९ का २९ वर्षीय रमेश साह पक्राउ परेका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार प्रियंका हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ।
हत्यामा उनीहरुको संलग्नता भने यकिन भइनसकेको कार्कीको भनाइ छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए। हत्या गरेर बोरामा पोको पारी फालेको अवस्थामा महिलाको शव रहेको जानकारी पाउनसाथ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले घटनाको अनुसन्धानका लागि डीएसपी रञ्जन दाहालको नेतृत्वमा टोली परिचालन गरेका थिए।
दाहाल नेतृत्वको टोलीले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएर घटनाको थप अनुसन्धान अघि बढाएको छ।








