बागलुङ । बागलुङमा लगातारको बर्षापछी आएको बाढीमा परेर २ जनाको मृत्यु भएको छ । बाढीमा १५ जना बेपत्ता भएको प्रारम्भीक अनुमान गरीएको छ । गएराति १२ बजेतिरे ढोरपाटन नगरपालिका वडा नम्बर ९ को देउरालीबाट खसेको पहिरोले स्थानिय सुप्राङ, लाकुरीबोट र दुनेपंधेराका गरी १५ भन्दा बढी घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार १५ देखि २० घरहरु ,एउटा स्कुलको आधा भाग र एउटा गाडीसमेत बगाएको गरीएको छ । भने ६, ७, ८ र ९ वडा प्रभावित भएकामा ८ र ९ वडामा बढी क्षति भएकोले बेपत्ता तथा मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरीएको छ । घटनास्थल सदरमुकामदेखि १ सय ३० किलोमिटर पश्चिमतर्फ पर्छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र रेग्मीका अनुसार अहिले इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट उद्धार टोली गइरहेको छ । स्थानिय भुजी खोलाका कतिपय पुल जोखिमपूर्ण भएकोले उद्धारमा जानेहरुलाई पनि कठिनाइ रहेको छ । यस्तै उद्दारको लागि ढोरपाटन सिकार आरक्ष र घोडाबाँधेस्थित नेपाली सेनाको टोली पनि उद्धारका लागि गएको छ । स्थानीय बासिन्दाले उद्धार र पहिरो पन्छाउने काम गरिरहेको छन् । अहिले पनि पानी परिरहेको र मौसम परिवर्तन भइरहने भएकाले उद्धारमा कठिनाइ परेको स्थानियहरुको भनाई छ ।








