नाच्दै खेल्दै र रमाउदै,
आफ्नै गाउॅघरमा बालपन बिताएको म,
जब उमेर सॅगै समय ढल्किदै गयो,
साहुको ऋण र आमाको दुःख देखेर,
मन त्यसै त्यसै बहकिन थाल्यो।
नचाहदा नचाहदै पनि बाध्यताले,
मलाई यस प्रदेशको भूमरिमा ल्यायो, र
मातृभूमिमा बगाउनुपर्ने पसिना दाना,
हेर्दै कहालिलाग्दो, विदेशी भूमिमा आफूलाई समर्पित गर्नु पर्यो।
तर बाध्यता र परिश्थितिको सामना गर्दै,
आफ्नो दैनिकी गुजार्न र आमालाई ,
खर्चको टेवा पुर्याउन सम्म सक्ने त भएकै थिएॅ नि,
पहिले हेला र दुर्व्यवहार गर्नेहरू पनि,
मेरो प्रगतिको पछाडि लागिरहेकै थिए नि,
तर आमा हजुरले भनेजस्तै,
समय सधैॅ कहाॅ एकै हुदो रहेछ र?
परिस्थितिले गर्दा म आज,
विश्वभरि फैलिएको,माहामारिको पात्र कहलिएको छु,
हो आमा म कोरोना सङ्क्रमित भएको छु।
हिजो सम्म मेरा निम्ति मरिहत्ते गर्नेहरू,
आज दुर्व्यवहार गर्ने भएका छन्।
अस्तिसम्म, म बिना खानै नखाने,
छिमेकि दिदिकी छोरी,
आज मलाई देख्दा तर्किने भएकि छे।
हो आमा म कोरोना सङ्क्रमित भएको छु।
जताततै घुमफिर गर्न मन पराउने म,
आज एउटा कोठा र बिस्तारामा अल्झिदै छु।
हिजो सम्म नेपाल फर्किन नचाहने म,
आज मातृभूमिको मायामा तड्पिरहेको छु।
हो आमा म अव अन्त कतै जान सक्दिन रे,
डाक्टरले भनेको, म नबाॅच्न सक्छु रे,
मेरा दिनहरूको अन्त्य हुदै छ रे।
आमा, छोरोले बिर्सिएछ नभन्नु है,
छोरोले खर्च पठाएन अनि वास्ता गरेन भन्नुहोला,
त्यस्तो कहिलै नसोच्नु है।
मनभरि, तनभरि र हृदयभरि देश र परिवारको,
माया हुदाहुदै पनि, म आउन सकिन।
हो आमा म कोरोना सङ्क्रमित भएको छु।
तर आमा, समयले मलाई सन्चो बनायो भने,
अवश्य मातृभूमि फर्किनेछु।
साहुको ऋण पनि तिर्नेछु,
वहिनीलाई डाक्टरी पनि पढाउॅला,
अनि हामी तिनै जना अटाउने,
एउटा सानो नचुहिने घर पनि बनाउॅला,
र हजुरको सबै सपना पुरा गरि,
मातृभूमिमै खुसियालि मनाऔॅला।।
कबिता








