चितवन । भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको भेटिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा।डाकृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको पाईएको हो ।
अस्पतालले गत माघ १३ गतेदेखि अहिलेसम्म अस्पतालमा कोभिड १९ को पीसीआर परीक्षण कार्य रोकिएको समेत जनाएको छ । रिएजेन्ट अभावका कारणले कोरोना परीक्षण रोकिएको हो । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ ।
तर एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । नक्कली रिपोर्ट बनाउनेहरुको बारेमा अनुसन्धान अगाडि बढाइएको पनि उनले जानकारी दिए ।









