फाईल फोटो
जनकपुर । मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । बिहीबार बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी शुक्रबार बिहान व्रत सम्पन्न गर्नेछन् । पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना सन्तानलाई पनि लगाउन दिनुपर्छ । आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ तर यसपल्ट ओंगठन खाने साइत छैन ।








