चितवन । कतार एयरवेजबाट कोरना सक्रमित युवतीसंँगै आएका चितवनका पांँच यात्रु आज भरतपुर कोरोना विशेष अस्पतालमा भर्ना भएका छन् । प्रहरीले उनीहरूको खोजी जारी गरी सम्पर्कमा आउन अनुरोध गरेपछि बुधवार अपराह्न उनीहरू सम्पर्कमा आएका हुन् ।
अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले विज्ञप्ति जारी गर्दै पाँच जनालाई बुधबार कोरोना विशेष अस्पतालमा भर्ना गरिएको जानकारी दिनुभयो । भर्ना हुनेमा सुरेश गुरुङ, बुद्धीराज कोइराला, सञ्जु कँडेल कोइराला, शम्भु नेपाली र पार्वती नेपाली छन् ।
सम्पर्कमा आएका ५ जना अहिले अस्पतालको आइसोलेसन वार्डमा छन् । सोही विमानबाट आएकी दीक्षा कँडेल भने अहिलेसम्म सम्पर्कका नआएको प्रहरीले जनाएको छ । संक्रमण थप फैलिन सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालयलाई उनीहरूको विस्तृत विवरण उपलब्ध गरिदिन प्रहरीले पत्राचार गरेको थियो । 








