हेटौंडा ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहमा सुझाव पेटिका राख्न शुरु गरेको छ । प्रहरी कर्मचारीहरुसंग सम्बन्धी गुनासा र सुझाव संकलनका लागि सुझाव पेटिका राख्न शुरु गरिएको हो । अभियानको विहिबार हेटौंडा उपमहानगरपालिकामा सुझाव पेटिका राखेर शुभारम्भ गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामा, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी बसन्तकुमार लामा, एसएसपी सुदिप गिरी, मकवानपुरका एसपी सुशिलसिंह राठौर, हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपाने, उपमहानगरका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । बागमती प्रदेशका सबै स्थानीय तहमा सुझाव पेटिका राख्ने कार्ययोजना अनसार पहिलो चरणमा १ महानगरपालिका, १ उपमहानगरपालिका, २५ नगरपालिका र १ वटा गाँउपालिका गरी २८ वटा स्थानीय तहमा सुझाव पेटिका राखिने छ । सुझाव पेटिकामा प्राप्त गुनासालाई प्रदेश प्रहरी कार्यालयले व्यवस्थापन गर्ने डिआईजी लामाले जानकारी दिए ।








