मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका-५ रुप्सामा नेपाली कागज उत्पादनका लागि उद्योग स्थापना गरिएको छ । स्थानीयस्तरका पाइने कच्चा पदार्थ सङ्कलन गरेर टोप्ला लघुउद्यम विकास समूहले नेपाली कागज उद्योग सञ्चालन गरेको गाउँपालिका उद्यम विकास शाखाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिनुभयो ।
“दुई लाख ४० हजारमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी कागज उद्योग सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले तीन वर्ष पहिलेदेखि स्थानीय कच्चा पदार्थबाट हुने उत्पादनलाई लघु उद्योग स्थापनालाई प्राथमिकतामा राख्दै आएको छ ।” गाउँमै उत्पादन हुने कच्चा पदार्थ सेतोवढु सदुपयोग हुने र गाउँमै रोजगारी पाउने आएको स्थानीय राजबहादुर सहकारीले बताउनुभयो ।
“गाउमै केही गरौँ भन्ने युवाहरू मिलेर कागज उद्योगको स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले स्थानीयलाई रोजगारी दिन सहयोग पुगेको छ ।” गत वैशाखमा स्थापना भएको उद्योगबाट हालसम्म दुई सय थानभन्दा बढी नेपाली कागज उत्पादन भइसकेको टोप्ला लघुउद्यम विकास समूहका अध्यक्ष जसमल बोगटीले जानकारी दिनुभयो ।
“नेपाली कागज बनाउन चाहिने अन्य केमिकल कास्टिङ सोडा, ब्रिफ पाउडर र नुरी खरिद गरी ल्याइएका छौँ”, उहाँले भन्नुभयो, “कागज बनाउनका लागि आवश्यक कच्चा पदार्थ गाउँमै उत्पादन हुने गरेको छ ।” उद्योगमा चार जना स्थानीयले रोजगारी पाएका छन् ।








