चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले चितवनका विभिन्न सामाजिक संस्थामा आश्रय दिईरहेका आश्रितहरुलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गर्नुभएको छ । मन्त्री जोशीले आईतबार चितवनका ११६ जना आश्रितलाई कार्ड वितरण गर्नुभएको हो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको निर्यण बमोजिम बिपन्न, आश्रममा आश्रित, अल्पसंख्यक, सीमान्तकृतहरुलाई निःशुल्क स्वास्थ्य बीमा योजना लागू गरे अनुसार सो कार्ड वितरण गरिएको हो ।
मन्त्री जोशीले भरतपुर महानगरपालिका वडा नं. ४ मा रहेको आदर्श गृह, भरतपुर महाननगरपालिका वडा नं. ३ मा रहेको मानव सेवा आश्रम र भरतपुर महानगरपालिका वडा नं. ९ मा रहेको चितवन मानव सेवा आश्रममा आश्रय लिइरहनु भएकालाई कार्ड वितरण गर्नुभयो । सो अवसरमा मन्त्री जोशीले हुने खानेलाई जस्तै हुँदा खानेको पहुँचमा स्वास्थ्य सेवा कार्यक्रम पु¥याउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
उहाँले प्रदेशभित्रका १३ वटै जिल्लामा मन्त्रालयको निर्णय अनुसार निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सक्दो छिटो पु¥ययाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “बागमती प्रदेश सरकार स्वास्थ्यसेवाको पहुँच बाहिर रहेकालाई सहज र सरल स्वास्थ्य सेवा पु¥याउन प्रतिबद्ध छ ।” उहाँले आर्थिक अभावमा कसैले स्वास्थ्य सेवाबाट बञ्चित हुनु पर्ने अवस्था नआउने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण सिलवाल, स्वास्थ्य मन्त्रालयका सचिब बद्री बहादुर खड्का, स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख इन्द्रमणि भण्डारी, समाजसेवी मिना खरेल, बिनोद ढकाल लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा समासेवी खरेलले राम्रो कामको शुरुवात भएको चर्चा गर्दै यसैगरी जनताको मन छुने काम गर्न सुझाव दिनुभयो ।








