हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डेङ्गु रोगको उपचारका लागि तयारी अवस्थामा रहन सबै अस्पतालहरुलाई निर्देशन दिएको छ । असार २९ गते शुक्रबारको स्वास्थ्यमन्त्री उत्तम जोशीको नेतृत्वमा बसेको मन्त्रीस्तरको बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको छ ।
मन्त्रालयले आज (आइतबार) एक सूचना जारी गर्दै डेङ्गु व्यवस्थापनका लागि शैय्या तथा उपचारका लागि तयार रहन भनेको छ । मन्त्रालयले डेङ्गु रोगबाट बच्न स्थानीय तहको सहकार्यमा लामखुट्टे नियन्त्रणका लागि ‘खोज र नष्ट’ अभियान चलाउन पनि स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।
डेङ्गु रोगको निरन्तर निगरानी गरी अवस्थाको बारेमा सचेत गराउन, किट तथा रियाजेन्टको यथेष्ट व्यवस्थापन गर्न पनि सूचनामा भनिएको छ । स्वास्थ्य कार्यालयहरुबाट प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रमा पालिकागत डेङ्गु रोगको दैनिक रिपोर्टिङ गर्न तथा सञ्चार माध्यमबाट प्रचार प्रसार गरी सचेत गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।









