चितवन । कोराना भाइरसको सम्भावित जोखिम कम गर्न भरतपुर अस्पतालले ३० बेडको आइसोलेसन वार्ड र १० बेडको आईसीयू विस्तार गरेको छ । अस्पतालको पूर्वाधारलाई नै प्रयोग गर्ने गरी बिहीबार बसेको उपसमितिको बैठकले कोराना संक्रमित बिरामीलाई लक्षित गर्दै उक्त निर्णय गरेको हो । अस्पतालले विज्ञप्ति प्रकाशित गरी १० जनाको संयोजकत्वमा संक्रमित बिरामीको उपचार गर्ने बताएको छ ।
यसअघि १९ वेडको आइसोलेसन वार्ड भए पनि कोराना बिरामीका लागि अलग्गै आईसीयू बेड थिएन । बैठकले अस्पतालमा सञ्चालनमा ल्याइने आईसीयू बेडका लागि १० वटा भेन्टिलेटर र आवश्यक पिपिई समेत मन्त्रालयबाट मगाउने निर्णय गरेको छ । ‘हाल देश कोरोना सन्त्रासबाट ग्रस्त रहेको र ठप्प भएको अवस्थामा हामी सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी दृढता पूर्वक कार्यक्षेत्रमा अहोरात्र खटिन तयार छौं ।’
अस्पतालका सुपरिटेन्डेन्ट श्रीराम तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा अघि भनिएको छ, ‘यस परिस्थितिमा राज्यले हाम्रो उच्च मनोबल, कायम गराइरहन हामी र हाम्रो परिवारको जीवन बिमाको रक्षा गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो ।’ हालसम्म १७ जनाको बिरामीको स्वाव परीक्षण गर्न पठाइएकोमा सबैको बिरामीको संक्रमण नेगेटिभ आएको समेत विज्ञप्तिमा उल्लेख छ ।








