धरान। धरान उपमहानगरपालिकाको सबै कर अब इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्नसक्ने भएका छन् । इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सकिने ब्यवस्था रहेको छ । इसेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानका अनुसार ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै महामारीका बेला घरबाटै सेवा लिदा सहज र सुरक्षित हुनेछ’ । नगरबासीले दुई तरिका बाट इसेवा मार्फत भुक्तानी गर्न सक्नेछन् । नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । भने त्यसपछि इसेवाको मोबईल एप अथवा वेबसाइटबाट अथवा धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ । इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।








