काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिडले रोमाञ्चक पहिलो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा मड्रिडले रियल बेटिसबिरुद्ध ३–२ को विजयी हासिल गरेको हो । रियलको जितमा फेडरिको भाल्भेर्डे र कप्तान सर्जियो रोमोसले एकएक गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोली बेटिसका लागि भने आइसा खशर विलियम कार्भाल्होले गोल गरे । खेलको १४ औँ मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा मान्डीले गोल गर्दै बेटिसलाई बराबरीमा फर्काए । यस्तै, ३७ औँ मिनेटमा कार्भाल्होले गोल गर्दै घरेलु टोलीलाई २(१ को अग्रता दिलाए । खेलको ४८औं मिनेटमा इमर्सनले आत्मघाती गोल गरेपछि रियल म्याड्रिडले खेललाई २–२ गोलको बराबरीमा ल्याउन सफल भयो । ६७औं मिनेटमा इमर्सनले रातो कार्ड खाँदै मैदान बाहिरएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो । यस्तै, ८२ औँ मिनेटमा रामोसले पेनाल्टी गोल गर्दै रियललाई पुनःरागमन जित दिलाउन सफल भए । जितसँगै रियल मड्रिडले २ खेलबाट ४ अंक जोडेको छ । पराजित रियल बेटिसको ३ खेलबाट ६ अंक रहेको छ ।








