ताप्लेजुङ । पाथीभरा मन्दिरमा भारतीय तीर्थयात्रीले चढाएको ३५ क्विन्टल भारतीय सिक्का साट्न समस्या भएको छ । पाथीभरा क्षेत्रमा चढाएको सिक्का पाथीभरा क्षेत्र विकास समितिले संकलन गरेर राखेको छ ।
एकमुष्ट सटहीका लागि नेपाल राष्ट्र बैंक कोशी प्रदेश कार्यालय विराटनगरसँग समन्वयको प्रयास गरेको क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार गत असार मसान्तसम्मको सिक्का सदरमुकाम फुङलिङ ल्याएर गोदाम गरिएको छ । मन्दिरदेखि सदरमुकामसम्म ढुवानी गर्न करिब एक लाख रुपैयाँ खर्च भएको छ ।
मन्दिरदेखि काफ्ले पार्टीसम्म मान्छेले बोक्दा ढुवानी प्रतिकिलो २० रुपैयाँ र त्यहाँदेखि गाडीमा ल्याउँदा ६ रुपैयाँ गरी २६ रुपैयाँ पर्न आउछ । ३५ क्विन्टलको ढुवानी खर्च ९६ हजार रुपैयाँ हुन आउँछ ।
सटही हुने भए सफा गरेर टल्काउने योजनामा समिति छ । तर सटही हुने नहुने अनिश्चय भएकाले बोरामा हालेर गोदाममा सुरक्षित गरिएको काफ्ले बताउँछन् ।








