गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले ब्यापारी ब्यवशायीले मापदण्ड पालना नगरे ५ हजार देखि ३ लाख सम्म जरिवाना गर्ने भएको छ। मंगलवार सुचना जारी गर्दै कार्यालयले ब्यापारी ब्यवशायीले के गर्ने, कुन कसुर गर्दा कति जरिवाना लाग्ने भन्ने बारे जानकारी गराएको छ। ‘ब्यापारी ब्यवशायी र ग्राहक पनि सचेत होउन भन्ने उद्देश्यले अहिले सुचना जारी गरेका छौँ’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने ‘एक सातापछि अनुगमनमा जाँदा मापदण्ड अनुसार नभएका पसललाई कारवाही गछौँ ।’ गोरखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श गोरखा मार्फत सबै ब्यापारी ब्यवशायीलाई सामग्री खरिद बिक्री गर्दा सबै मापदण्ड र प्रक्रिया पूरा गर्न भनिएको छ । उपभोक्ताले मूल्यसुची, म्याद हेरेर खरिद गर्ने, बिल अनिवार्य लिने, मूल्यसुची पसलमा र सामग्रीमा भए नभएको हेर्ने, तौल भने अनुसार भए नभएको ध्यान दिन प्रशासनले अनुरोध गरेको छ । ब्यापारी ब्यवशायीलाई मूल्यसुची अनिवार्य राख्नुपर्ने, नापतौलका सामग्री ठिक राख्ने, कृत्रिम अभाव सिर्जना नगर्ने, अनिवार्य बिल ग्राहकलाई दिने, म्याद नाघेका खाद्य बस्तु बिक्री गर्न नहुने, अनुचीत नाफा नलिने, मिसावट गरिएको सामग्री बिक्री नगर्न प्रशासनले निर्देशन गरेको छ । निर्देशन अटेरी गरेर बिक्री बितरण भएको पाइएमा अनुगमन गरि कारवाही गरिने निरीक्षण अधिकृत एवं साहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताईन । ‘आग्रह गर्दा गर्दै अटेर गर्नुभयो भने हामीले कारवाही गछौँ’ उनले भनिन् । बिल बिजक मागेको बेला उपलब्ध नगराएमा वा नराखेमा पाँच हजार देखि दुई लाख जरिवाना, निरीक्षण अधिकृत वा अनुगमन टोलीलाई सहयोग नगरेमा २० हजार जरिवानाको प्रावधान छ । गुणस्तर, परिमाण, मूल्य, बनावट फरक परेमा वा लुकाई छिपाई बिक्री गरेमा, उपभोग गर्न नमिल्ने बस्तु बिक्री गरेमा, अभाव सिर्जना गर्न खोजेमा,बिजक जारी नगरेमा दुई लाख देखि तीन लाख जरिवाना लाग्ने अनुगमन निरीक्षक खत्रीले बताईन । कुनै बस्तु संचित गरी कृत्रिम अभाव सिर्जना गरेमा, निर्धारित समय वा स्थान बाहेकमा वा अनुमती लिएको भन्दा फरक ब्यापार ब्यवशाय गरेमा ५० हजार देखि एक लाख जरिवाना लाग्ने प्रशासन कार्यालयले जनाएको छ।








