विराटनगर । थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ।आज बुधबार विराटनगर र धरानमा १–१ जनाको पुरुषको ज्यान गएका हो। विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे ज्यान गएको हो। यसैगरी सप्तरीको राजविराज–४ घर भएका ३९ वर्षीय पुरुषको बिहान करिब ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो। कोभिड १९ उपचार केन्द्र विराटनगरका प्रमुख एवं बरिष्ठ फिजिसियन डा। दीपक सिग्देलका अनुसार मोरङका मृतक पुरुषलाई उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उनलाई आठ दिनयता भेण्टिलेटरमा राखिएको थियो। उनलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो। सिग्देलले अवस्था नाजुक बन्दै गएपछि संक्रमित पुरुषमा रेमडिसिभर औषधि पनि चलाइएको जनाए। यसैगरी बीपी प्रतिष्ठानमा ९ असोजमा भर्ना भएका राजविराजका ३९ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए। ती पुरुषलाई विराटनगरको गोल्डेन अस्पतालले रेफर गरेको थियो। मधुमेह र उच्च रक्तचाप भएका पुरुषमा मिर्गौलाको समस्या पनि थियो। उनी नियमित डाइलायसिस गराउँदै आएका थिए । १० असोजमा भर्ना भएका पुरुषलाई भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।








