काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको शुल्कभन्दा बढी पीसीआर परिक्षणको शुल्क लिने ८ वटा ल्याबलाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले शुल्क समायोजन गर्न अल्टिमेटम दिएको हो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुल्क नघटाए पीसीआर ल्याब सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने बताएका छन्। त्यसका लागि राष्ट्रिय जनस्वास्थ्यलाई पत्राचार गर्न निर्देशन दिने उनको भनाई छ । स्टार हस्पिटल, ह्याम्स हस्पिटल, बी एण्ड बी हस्पिटल, मेडिसिटी, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर प्रालि, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोट्री एन्ड रिसर्च सेन्टर र इन्ट्रिपिड डायग्नोस्टिक सेन्टरले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको बताइएको छ । सरकारले पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने गरी निर्णय गरेको छ ।








