एजेन्सी । कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेले भने जोस बट्लरले २१ रन जोड्दा राहुल टेवाटियाले १४ रन बनाए । कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २/२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । कोलकत्ताका लागि शुबमन गिलले ४७ रन जोड्दा आन्द्रे रसेलले २४ रन जोडे । नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए । इयान मोर्गनले अविजित रहदै ३४ रन जोड्दा पाट कुमिन्सले १२ रन बनाए। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस्तै अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक-एक विकेट लिए । जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकत्ता लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।








