चितवन । हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाको आयोजनामा सनातन संस्कृति परम्परा र सभ्यताको जगर्ने भन्दै शनिबार करिब ५० किलोमिटर धार्मिक मोटरसाइकल यात्रा गरिने भएको छ । मंसिर ३० गते बिहान पवित्र तीर्थस्थल देवघाटधामबाट माडीको ऐतिहासिक धार्मिकस्थल सोमेश्वर कालिकासम्म जय सनातन अभियान नेपालले बृहत् मोटरसाइकल यात्रा गर्न लागेको हो ।
यात्राबारे जानकारी दिन आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ कथा वाचक बालकृष्ण अर्यालले सनातन धर्मको सुरु र अन्त्य नभएको भन्दै यसको संरक्षणमा सम्पूर्ण सनातनीहरु लाग्नुपर्ने बताउनुभयो । पछिल्लो समय देशमा भएका विभिन्न गतिविधिले हिन्दू धर्ममाथि प्रहार भइरहेको भन्दै यसको विरोधमा सबैले आवाज उठाउनुपर्ने अर्यालको भनाइ थियो । पत्रकार सम्मेलनमा विश्वहिन्दू महासंघका केन्द्रीय सदस्य फूलनाथ न्यूरेले नेपाललाई फेरि हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनुभयो ।
जय सनातन अभियान नेपालका अध्यक्ष घनश्याम पौडेल श्यामले यस यस क्षेत्रको धार्मिक ऐतिहासिक क्षेत्रको प्रचारप्रसार गरी महत्व र गरिमा बढाउँदै आन्तरिक एवम् बाह्य पर्यटनको आकर्षण बढाउने बताउनुभयो । सनातन सभ्यताभित्रका मौलिका संरचना मन्दिर देवालय पिठ र गढीहरुको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले पवित्र तीर्थस्थल देवघाटधामबाट पवित्र गण्डकीको जल २१ घडामा लिइ सोमेश्वर कालिका मन्दिरमा अर्पण गरिने बताउनुभयो ।
सो धार्मिक यात्रामा १०८ मोटरसाइकलमा १५१ श्रद्धालु भक्तजनको सहभागिता रहने उहाँले बताउनुभयो । यात्रामा विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष एवं पदाधिकारीहरु, सन्त सभा नेपालका प्रतिनिधिहरु, धर्म गुरुहरु, स्वामी, पीठाधीसहरुलगायत हिन्दुवादी संघसंस्थाहरुको सहभागिता रहने पौडेलले जानकारी दिनुभयो ।
कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटबाट जलसहितको घडा लिइ भरतपुर–१० को महाकालेश्वर मन्दिरमा जम्मा भई माडीठोरी हुलाकी मार्ग हुँदै सोमेश्वर कालिका मन्दिरसम्मको यात्रा हुने विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेमप्रसाद गैरेले बताउनुभयो । घडासहितको बृहत् धार्मिक मोटरसाइकल यात्रामा सहभागी हुन तथा आफ्नो घर अगाडिको बाटोमा स्वागत गरिदिनसमेत गैरेले स्थानीयवासीलाई आग्रह गर्नुभयो ।








