एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इण्डियन्सले जित निकालेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो । राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै जोफ्रा आर्चरले २४ रन जोड्दा टम करनले १५ रन बनाए भने कप्तान स्टिभ स्मिथ ६ रनमै आउट भए । मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनको नाममा २/२ विकेट रह्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे । हार्दिक पाण्डयले अविजित ३० रन जोडे । राजस्थानका श्रेयस गोपालले २ विकेट लिए । जोफ्रा आर्चर र कार्तिक त्यागीले १/१ विकेट लिए । जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बई चौंथो जितसहित तालिकाको शिर्षस्थानमा उक्लिएको छ । ५ खेलमा ४ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।








