एजेन्सी । अक्षय कुमार अभिनित फिल्म ‘सूर्यवंशी’को प्रदर्शन मिति पछाडि धकेलिएको छ । भारतमा ६ महिनादेखि ठप्प हलहरु खुल्ने भएका छन् । भारतको गृह मन्त्रालयले अक्टोबर १५ देखि ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति दिएपनि महाराष्ट्र सरकारले भने अक्टोबर १५ बाट हल खोल्ने अनुमति दिएको छैन । भारतका अन्य राज्यमा अक्टोबर १५ बाट चलचित्रहरू रिलिज भएपनि बलिउडको सबैभन्दा ठूलो बजार मानिने महाराष्ट्रमा भने हल नखुल्ने भएपछि ठूलो बजेटका बलिउड चलचित्र रिलिज हुने सम्भावना पनि टरेको छ । भारतीय मिडियाका अनुसार, नायक अक्षय कुमार र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘सूर्यवंशी’लाई तिहारमा रिलिज गर्ने योजना गरिएकोमा महाराष्ट्र सरकारले अनलक–५ मा पनि हल खोल्ने अनुमति नदिएपछि यो चलचित्रको तिहारमा तोकिएको प्रदर्शन मिति पछि सारिएको छ ।








