एजेन्सी । युएईमा जारी औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए । कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो । कोलकत्ताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले । सुनिल नारिनले १७ रन जोड्दा सुबमान गिलले ११ रन बनाए । कप्तान दिनेश कार्तिक १२ रनमा आउट भए । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । यस्तै सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २/२ विकेट लिए । जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ ।








