पारीवारिक बाध्यता र साहुको ऋणले थिलोथिलो पारेर
दैनिकि नै असहज बनाएको बेला
झिनो आशाको त्यान्द्रो बोकेर धन कमाउने आशामा
विदेशिएको थिएॅ आमा म।
हजुरको सपना पुरा गर्ने र
हजुरलाई ऋणमुक्त गराउने लक्ष्य बोकेर त म यहाॅ आयको थिएॅ नि आमा।
भाग्यको खेला नै यस्तै थियो होला र त आज यस परदेशको भूमरिमा
नचाहॅदा नचाहॅदै पनि आफूलाई समर्पित गरिरहेको छु आमा।
घर आउने चाहना हुदाहुदै पनि
मलाई यस परदेशको भूमरी र कोरोनाको महामारीले बाॅधेर राखेको छ आमा।
समय सधैॅ एकै कहाॅ हुदो रहेछ र आमा,
अर्काको देशमा जति नै पसिना बगाए पनि
सुख र हर्ष को सास फेर्न सार्है धौधौ पर्ने रहेछ।
दशैॅ, तिहार जस्ता चाडपर्वहरू आइरहेछन् भनेर
मलाई फोन गरि गरि नसम्झाउनु है आमा,
त्यहाॅका साथिसङ्गी, गाउॅघर, लिङ्गेपिङ
र
सबैभन्दा प्यारो हजुरको काख अनि अघात माया र प्रेम,
मेरो मनभरी, तनभरी, हृदयभरी र आॅखाभरी
यादका छालहरू बनेर बहिरहेछन्।
छोरी सात समुद्रपरी छे भनेर चिन्ता गरी
आॅसु ढिका नझार्नुहोला आमा ।
त्यहाॅ भएका दिदिबहिनी र छोरीचेलि भन्दा
म कयौॅ गुना सुरक्षित छु आमा।
म मेरो देशका छोरीहरू जसरी बलात्कार हुनबाट सुरक्षित छु आमा।
जति नै पसिना बगाए पनि आफ्नो शरिर बेच्नु परेको छैन आमा।
चाडपर्व मनाउने बहानामा गाउॅघर आउॅदा
मानवको रूपधारण गरेर पनि राक्षसि पन देखाउने ति दानबहरूसॅग
आफ्ना छोरीचेलिलाई सुरक्षित राख्नुहोला है आमा।
चाडपर्वमा पनि छोरी घर आइन भनेर चिन्ता नमान्नु है,
बाध्यता र परिस्थितिले गर्दा आउन पाइन,
तर म यहाॅ सुरक्षित छु आमा।
एक्लि आमालाई छाडेर विदेश बसी भन्दै छरछिमेकिले कुरा काट्लान्,
कसैको वास्ता नगरी आफ्नै घरमा सुरक्षित तरिकाले दशैॅ मनाउनुहोला है आमा।
समय र परिस्थिति सम्हालिदै गए अर्को वर्ष अवस्य नेपाल आउनेछु
र
हजुरसॅगै दशैॅ मनाई खुसीयाली साट्नेछु।








